काठमाडौं– साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकले बढेर बन्द भएको सेयर बजार साताको पहिलो दिन भारी गिरावट भएको हो।
आज सेयर बजार परिसूचक २८ अंकले गिरावट हुँदा २८२२ विन्दु कायम हुँदै बन्द भएको छ। कारोबार रकमका आधारमा आज १० अर्ब २१ करोड बराबरको सेयर किनबेच भएको छ।
३० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो। अधिकांश समूहका सूचक घटे। माइक्रोफाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै घटे। माइक्रोफाइनान्स २.३५ तथा विकास बैंक २.३१ प्रतिशत घटे।
बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशत घटे। अन्य समूह ०.३१ प्रतिशत बढ्यो।
रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ तथा बुद्धभूमि हाइड्रोपावरको ३.४७ प्रतिशत मूल्य बढ्यो। उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशत घट्यो। लिबर्टी इनर्जीको ७.०६, ट्रेड टावरको ६.९९, सीवाईसी लघुवित्तको ५.७४ तथा विन नेपाल लघुवित्तको ५.७२ प्रतिशत मूल्य घट्यो।
आज धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, साहस ऊर्जा तथा बुटवल पावर क्रमशः अगाडि रहे। बजारको पूँजीकरण ४७ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।