काठमाडौं– अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार आज सोमबार सम्हालिएको छ।
अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ८.६२ अंक बढेको छ। सो वृद्धिपछि नेप्से २८६७ अंकमा कायम भएको छ।
गत मंगलबार ३००२ अंकसम्म पुगेको बजार लगातार तीन कारोबार दिन कुल १४४ अंक घट्दै हिजो आइतबार २८५८ मा झरेको थियो। आजको कारोबारका क्रममा बजार केही उतारचढावमा रह्यो। दिउँसो १ : १२ बजे न्यूनतम २८३३ अंकसम्म बजार झर्यो भने २ : ३४ बजे अधिकतम २८८९ अंकसम्म पुग्यो।
तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ। अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो। १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो।
आज बैंकिङ ०.६८ प्रतिशत बढ्यो। त्यस्तै जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५६, हाइड्रोपावर ०.०९ प्रतिशत बढे। होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.०६, अन्य ०.४२, उत्पादन तथा प्रशोधन ०.२१, निर्जीवन बीमा ०.५३ तथा फाइनान्स ०.८२ प्रतिशत घटे।
सिक्लेस हाइड्रोपावरको ५.७३, स्वेतगंगा हाइड्रोपावरको ५.१२, विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ तथा माछापुच्छ्रे बैंकको ४.५१ प्रतिशत मूल्य बढ्यो।
अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढेको ट्रेड टावर आज १० प्रतिशत घट्यो। त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ३.२६, नेपाल फाइनान्सको ३.१४ तथा सप्तकोशी विकास बैंकको ३.१४ प्रतिशत मूल्य घट्यो।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।