काठमाडौँ– भक्तपुरको बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदीबहिनी भारतको महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट ३ साताअघि भागेर भक्तपुरमा आएको खुलेको छ। उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर शंकास्पद अवस्थामा मृत भेटिएका थिए।
मृत भेटिनेमा सुर्खेत पञ्चपुरी नगरपालिका-८ घर भएका १६ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १३ वर्षीया सिर्जना कँडेल छन्। उनीहरूको स्थायी ठेगाना भने सुर्खेतको पञ्चपुरी नगरपालिका–८ हो।
प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए। आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो। फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए।
भारतबाट भक्तपुरमा आए लगत्तै डेरा खोज्न जाँदा उनीहरूले भनेका थिए, ‘यहाँ कलेज पढ्छौँ।’ मुम्बईमा अभिभावकलाई कम्प्युटर कक्षा जान्छौँ भनेर हिँडेका उनीहरू नफर्किएपछि सुरुमा अभिभावकले भारतीय प्रहरीलाई जानकारी गराएका थिए।
पछि दिदी बहिनीले बाबुआमालाई म्यासेज गरे। आमा उमा कँडेलका अनुसार भ्वाइस म्यासेज पठाएर उनीहरूले भनेका थिए, ‘हामी बैंगलोर गयौं, पैसा कमाएपछि आउँछौँ।’
मृत फेला परेका उनीहरूले गएराति टिकटक पनि बनाएको भेटिएको छ। यस्तै घटनास्थलमा मोबाइल फेला परेको छ।
यस्तै उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
घटनापछि मृतक दिदी बहिनीका बुवा वासुदेव कँडेल काठमाडौँ आउँदै छन्। अभिभावक आएपछि मुचुल्का गरेर शव पोस्टमार्टम गर्न अस्पताल पठाइने डीएसपी नेउपानेले बताए। उनले भने, ‘हामीले घटनास्थल सुरक्षित राखेका छौं।’
प्रहरीले उनीहरूको शव उठाएको छैन। आफन्तले मृतकका बाबुआमा आएपछि मात्रै शव उठाउनु भनेपछि घटनास्थल सुरक्षित गरेर राखिएको प्रवक्ता नेउपानेले बताए।
मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन्। मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए। सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव, उमा)ले सीसी क्योमरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए।
यस्तै उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।