बाजुरा– बाजुराको हिमाली गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीकी ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।
चौधरीका अनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जिप टुनीगडामा दुर्घटना भएको हो।
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आउँदै गरेका यात्रुहरू बोकेको उक्त जिपमा क्षमताभन्दा बढी यात्रु चढेका कारण कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
जिपमा सवारमध्ये १५ जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।