काठमाडौं– बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो।
पाँच ठाउँमा भने सडक एकतर्फी सन्चालनमा छन्।
प्रहरीको सूचना अनुसार कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ।
यसैगरी पाँचथरको फिदिम नगरपालिका ५ र हिलिहाङ गाउँपालिका ७ को संगमस्थल हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ।
पाँचथरकै तुम्वेवा गाउँपालिका २ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ३ तरङखोलामा बाढीका कारण बाटो अवरुद्ध छ।
रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ र २ मा पनि पहिरोले गर्दा शहीद राजमार्ग अवरुद्ध छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी कोरिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
काठमाडौंको टोखा नगरपालिका २ अविरल वर्षाका कारण सडमा क्षति हुँदा काठमाडौं–नुवाकोट सडकखण्ड एकतर्फी सन्चालनमा छ।
यसैगरी बागलुङको गलकोट नगरपालिका ११ काउसेमा पहिरो झरेकाले मध्यपहाडी लोकमार्ग र बागलुङकै बागलुङ नगरपालिका १० दब्ल्याङमा पहिरो झरेकाले कालिगण्डकी कोरिडोर एकतर्फी सन्चालनमा छन्।
रोल्पाको परिवर्तन गाउँपालिका ५ ग्रामजिममा र भुर्तिबाङमा पहिरोले गर्दा शहीद राजमार्ग एकतर्फी भएको प्रहरीले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।