काठमाडौं– गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको स्थीति अनुकुल रहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री लेखकले एक वर्षअघिको तुलनामा अहिले शान्ति सुरक्षाको स्थीति अनुकुल रहेको बताएका हुन् ।
उनले संघीय व्यवस्थालाई समाप्त गर्ने अवस्था नरहेको र संविधानको सुरक्षाका लागि काम गरिरहेको धारणा राखे । अपराध न्यूनीकरण गर्न सुरक्षा निकायहरुले गम्भीरतापूर्वक काम गरिरहेको उनको भनाइ छ ।
त्यस्तै गृहमन्त्री लेखकले अपराधका पुराना घटनालाई समेत अहिले प्रहरीले अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याएको उल्लेख गरे । आर्थिक अपराधहरु समेत प्रहरीले अनुसन्धान गर्नुपर्ने विषय बनेकाले केन्द्रीय अनुसन्धान व्युरोभित्र छुट्टै निकाय गठन गरिएको उनले बताए ।
उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई प्रयाप्त स्रोत साधन उपलव्ध गराएर व्यवसायीक बनाउन सरकार गम्भीर रहेको जिकिर गरे ।
बैठकमा नेपाल प्रहरीका प्रमुख दीपक थापाले हतियार खरिदका लागि पुरानो ठेक्का व्यूँताएको कुरामा सत्यता नरहेको बताए । हतियार खरिद गर्ने विषय निर्देशनका आधारमा नभइ कानूनका आधारमा गर्ने विषय भएको उनको भनाइ छ ।
उनले भवन निर्माणका लागि पाँच सय करोड बजेट आएको जानकारी दिए । थापाले मुलुकमा अपराध न्यूनीकरण गर्दै शान्ति सुरक्षा कायम गर्न संगठनलाई केन्द्रित गरेको जिकिर गरे ।
त्यस्तै सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले सशस्त्र प्रहरीले सीमा सुरक्षाका लागि २ सय ६० वटा बोर्डर आउट पोष्ट (विओपी) स्थापना भएको जानकारी गराए । सीमा क्षेत्रमा हुने गरेको चोरी डकैती, लुटपाट, लागुऔषध नियन्त्रणमा कडाइका साथ नियन्त्रण गरिने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।