काठमाडौं– सशस्त्र प्रहरीका आइजिपी राजु अर्यालले संगठनलाई रासन, पोशाक खर्च, सवारी साधनदेखि आवाससम्म अपुग रहेको गुनासो गरेका छन्।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखककै अघि उनले रासनदेखि आवाससम्म अपुग रहेको बताएका हुन्।
‘रासनका लागि एक जनालाई दैनिक २०६ रुपैयाँ छ, त्यसले बिहानदेखि बेलुकीसम्म पालिनुपर्ने अवस्था छ,’ उनले भने, ‘सबै पोशाकका लागि वर्षमा ३ अर्व ७ करोड चाहिन्छ तर सरकारले वार्षिक ६१ करोड १८ लाखमात्रै दिने गरेको छ।’
उनले सिन्धुलीसहित १७ जिल्लामा कार्यालय अस्थायी रूपमा रहेको बताए। सरकारले ५ सय ठाउँमा बिओपी राख्ने लक्ष्य राखे पनि अहिलेसम्म २६० ठाउँमा मात्रै राखिएको र त्यहाँ गस्तीका लागि सवारी साधनदेखि बस्न आवासको प्रबन्ध गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।
उनले विपद्का उद्धारमा सशस्त्र प्रहरीलाई परिचालन गर्ने गरे पनि विपदका बेला खटिएकाहरूको दुर्घटनामा मृत्यु हुने गरेको र मृतकका परिवारलाई २५ लाख बिमा रकम दिने सोच रहेकोमा राज्यस्तरबाट सहयोग हुनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।