काठमाडौँ– गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको बताएका छन्।
शुक्रबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने र नागरिकको जिउ–धनको रक्षा गर्ने काममा लागेको बताएका हुन्।
उनले अपराधको न्यूनीकरण, नियन्त्रण गर्ने र अपराध भएमा त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानुन बमोजिम सजाय गर्ने काममा गृह प्रशासन लागिरहेको बताए। शान्ति सुरक्षाको स्थिति अहिले अनुकूल रहेको गृहमन्त्रीको दाबी छ।
अपराध नियन्त्रण गर्न मन्त्रालय निरन्तर लागिरहेको र आपराधिक कार्य गरेर फरार भएकाहरू पनि पक्राउ गरिरहेको उनले बताए।
गृहमन्त्री लेखकले भने, ‘अपराधको न्यूनीकरण, नियन्त्रण गर्ने र अपराध भएमा त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानुन बमोजिम सजाय दिने अर्को जिम्मेवारी हो। मुलुकमा सुशासन स्थापना गर्ने, संविधान र कानुनको कार्यान्वयन गर्ने, गराउने तथा विपद् व्यवस्थापनको काम गृह मन्त्रालयका निरन्तर काम हुन्। अपराध भइसकेपछि अपराधीलाई कानुनी दायरामा ल्याउने कुरामा हाम्रा सुरक्षा निकायहरूले राम्रोसँग काम गरिरहेका छन्। पछिल्लो समयमा हेरिएको हो भने धेरै पुराना अपराधमा संलग्न भएर फरार भएका मानिसहरू पनि पक्राउ परेका छन्।’
गृहमन्त्री लेखकले लागु औषध न्यूनीकरण, नियन्त्रण, निषेध गर्न सबै मिलेर जानुपर्ने अवस्था रहेको बताए। सडक दुर्घटनाको नियन्त्रण आवश्यक रहेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।