काठमाडौं– यसवर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई प्रख्यात व्यक्तित्व, ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ।
ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष विशेषगरी ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो।
ज्ञानेन्द्र शाही, एक प्रभावशाली युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन्। उनले भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा निरन्तर आवाज उठाउँदै आएका छन् । उनको निडर स्वभाव र राष्ट्रहितका लागि गरेको पहलले ठूलो जनसमर्थन पाएको छ।
त्यसैगरी, कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हुन्, जसलाई लोडसेडिङ अन्त्यको श्रेय दिइन्छ। उनको कुशल नेतृत्व, दृढ इच्छाशक्ति र व्यवस्थापकीय क्षमताका कारण नेपालले दशकौँ लामो लोडसेडिङको अन्धकारबाट मुक्ति पाएको थियो।
घिसिङको यो योगदानले नेपाली जनताको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ र उनी 'अँध्यारोबाट उज्यालो' ल्याउने नायकका रूपमा लोकप्रिय छन् ।
न्यूयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ। यस अवार्डले शाही र घिसिङ दुवैको राष्ट्र निर्माणप्रतिको समर्पणलाई अझै प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।