काठमाडौं– एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्न सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरुप उक्त डिल हात पारेका हुन् ।
त्यस्तै, आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले दोस्रो स्थान हासिल गर्दै ५ लाख रुपैयाँबराबरको ब्रान्ड डिल जितिन् भने बागलुङका मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यसैगरी बुटवलका प्रशान्त पाण्डेले चौथो स्थान हासिल गरी अपट्रेन्डली पिकका रूपमा १ लाख रुपैयाँको ब्रान्ड डिल जितेका छन् ।

गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममा विजयी क्रिएटरहरूलाई पुरस्कार प्रदान गरिएको हो । देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उद्देश्यसहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो ।
'देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो । एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरूलाई कन्टेन्ट क्रिएसनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त छु,' एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, 'साथै, यस प्रतियोगितालाई अर्थपूर्ण र प्रभावकारी बनाउन योगदान पुर्याउनुहुने सबै मेन्टरहरूप्रति हामी हार्दिक आभारी छौँ ।'

प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोहरूमध्येबाट उत्कृष्ट ५० जना क्रिएटरलाई पाँच जना मेन्टरहरू सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । उनीहरूलाई १०/१० जनाको समूहमा ५ जना मेन्टरहरूमार्फत विशेष प्रशिक्षण र मेन्टरसिप प्रदान गरिएको थियो । सहभागीहरूले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए ।
प्रथम पुरस्कार विजेता महर्जन प्रतिमा अधिकारीको टिमका थिए भने दोस्रो हुने श्रेष्ठ संजोग कोइराला टिमका थिए । त्यसैगरी, तेस्रो विजेता रुचेल र चौथो विजेता पाण्डे मिस्टर फूडी नेपाल टिमका थिए । उत्कृष्ट ५० मा पर्न सफल क्रिएटरहरूमध्येबाट निर्णायकमण्डलले फिनालेमा उत्कृष्ट चार क्रिएटरहरू छानेका थिए ।

निर्णायकमण्डलमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।