काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले राजीनामा नदिने बताएका छन्।
उनले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।
३२ लाखको अडियो प्रकणरमा मुछिएका मन्त्री अधिकारीले त्यसबारे स्पष्ट पार्नका लागि पत्रकार सम्मेलन गर्दै भने,'पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ।'
घुस प्रकरणमा अडियो सार्वजनिक भएपछि स्पष्टीकरण दिने क्रममा उनलाई एक सञ्चारकर्मीले यस्तै अडियोको कारण मन्त्री पद गयो नि ? भनेर प्रश्न गरेका थिए।
उक्त प्रश्नको जवाफमा उनले भनेका छन्, ‘मन्त्री पदको के भने, सधैंको निम्ति पनि होइन। एक वर्ष पछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति नै हो। सहमतिको आधारमा पुनर्गठन हुनेवाला नै छ। त्यो हुँदा को हुन्छन् को हुँदैनन्, छुट्टै कुरा हो। सबै हुन्छन् कि। त्यो एउटा पाटो हो।’
साथै, उनले पदमा रहुन्जेल जिम्मेवार तरिकाबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
‘जहिलेसम्म होइन्छ आफूलाई परेको जिम्मेवारी जिम्मेवार तरिकाबाट पूरा गर्ने हो। जतिबेला जुन जिम्मेवारीमा रहन्छ त्यही अनुसार अगाडि बढिन्छ,’ उनले भने।
उनले आफूसँग जोडिएको विषयमा कुनै संलग्नता नरहेको भन्दै संलग्न देखिए कारबाही भोग्न तयार रहेको पनि बताए।
व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएको थियो।
यसअघि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबारमात्रै राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।