काठमाडौं– दैलेख जिल्ला अदालतले जिल्लाको ठाटीकाँध गाउँपालिका- १ सिलाडीमा ३५ दिने शिशु चोरी गर्ने एक १६ वर्षीया किशोरीलाई ३ वर्ष ४ महिना कैद सजाय सुनाएको छ । उनलाई ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले सोमबार उक्त फैसला सुनाएको हो । अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार किशोरीमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तथा आपराधिक उपद्रव अभियोगमा २ वर्ष कैद र २० हजार जरिवाना माग गरिएको थियो ।
दुवै अभियोग एकैपटक सुन्दै अदालतले ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरे पनि बाल न्याय प्रणालीअनुसार दोषीको उमेर हेरी एक तिहाइ सजाय छुट दिइएको हो । त्यसअनुसार सजाय घटाएर ३ वर्ष ४ महिना कैद र ३३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना कायम गरिएको अदालतले जनाएको छ ।
गत चैत २८ गते बमबहादुर बुढाकी ३५ दिने छोरी श्रीया बुढालाई ती किशोरीले आगलागीको नाटक गर्दै सुताइएको ठाउँबाट चोरी गरेकी थिइन् । हराएको शिशु चैत २९ गते बिहान चामुण्डामा सुरक्षित अवस्थामा फेला परेको थियो ।
प्रहरीले घटना अनुसन्धान अघि बढाउँदै वैशाख १७ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोग दर्ता गरेको थियो । सोही दिन थुनछेक बहसपछि किशोरीलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।