काठमाडौँ – स्पेनको सेभिल्लामा सम्पन्न संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी गराउन भनेर नेपालबाट असम्बन्धितहरूलाई लगेको घटना अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीलाई दिइएको छ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा सिंहदरबारमा सोमबार बसेको बैठकले प्रहरीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिएको हो।
बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी, आईजीपी दिपक थापा, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी चन्द्रकुवेर खापुङ लगायतका अधिकारी सहभागी थिए।
स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाइसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरु विदेश पठाएको हुनसक्ने देखिएपछि त्यो अवधिमा भिजिट भिसामा जाने सबैको विवरण जाँच गर्ने तयारी छ ।
प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा असम्बन्धित व्यक्तिहरूलाई समेत बिचौलियाले कागजात बनाएर पठाएको भन्दै सङ्घीय संसद्मा सांसदहरूले प्रश्न गरेका छन्।
सेभिल्लामा ३० जुनदेखी २ जुलाईसम्म सम्मेलन चलेको थियो। त्यसमा सहभागी गराउन बिचौलियाहरूले रकम असुलेर केही व्यक्तिहरूलाई भिजिट भिसामा विदेश पठाएको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।