हेटौँडा– मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन्।
सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले काठमाडौँको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।
आफू पटकपटक बलात्कृत भएको भन्दै असार ८ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन्। जाहेरी दर्ता गरे पनि राउत पक्राउ परेका थिएनन्।
प्रहरीले राउतलाई काठमाडौंको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको र आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ।
१७ वर्षीया किशोरी चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएकी थिइन्। उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन्।
मामाघरको हजुरआमासँग बसिरहेकी उनी कमजोर आर्थिक अवस्थाका कारण बालबालिका संरक्षणका लागि खोलिएको भनिएको होस्टेलमा थिइन्। बालगृहमा १५ जना बालिकाहरू छन्। तर, गत जेठ १ देखि ८ सम्मकै अवधिमा होस्टेल प्रमुख राउतले आफूलाई पटकपटक बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।