काठमाडौं– न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयनको माग गर्दै श्रमिकहरुले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार विराटनगरस्थित संसारी माइस्थानबाट सुरु भएको विरोध प्रदर्शनसहितको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै महेन्द्र चोकमा पुगेर आमसभामा परिणत भएको थियो ।
नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसवादी दलहरुको मजदुर संघ संगठनका प्रतिनिधिहरु सहभागि भएको विरोध र्यालीपछि आयोजित कार्यक्रममा श्रमिकहरुले कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईलाई ज्ञापन पत्र बुझाएका थिए ।
सहभागि श्रमिकहरुले न्यूनतम पारिश्रमिक वृद्धि गर, श्रम कानुन कार्यान्वयन गर, सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गर जस्ता नारा लगाएका थिए ।
प्रत्येक दुई दुई वर्षमा मजदुरहरुको पारिश्रमिक वृद्धि गर्नुपर्ने कानुनी व्यवस्था विपरित आफुहरुको तलब वृद्धि नगर्ने प्रयास भइरहेकोले विरोध र्याली आयोजना गरिएको जिफण्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले जानकारी दिए ।
आफूहरुको माग पूरा नभए विभिन्न पार्टीहरुमा आबद्ध सम्पूर्ण श्रमिकहरु एक भएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।