काठमाडौं– प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले सपथ लिएका हुन्।
कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए।
उपकुलपतिका लागि सिफारिस भएकामध्येबाट प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई बुधबार उपकुलपतिमा नियुक्त गरेका हुन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो।
समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो।
उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।