काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई शिक्षा विधेयकको असहमति बुँदामा सहमति जुटाउन पाँच दिनको समय दिएको छ।
आज बसेको समिति बैठकमा पाँच दिनको समय दिँदै बैठक स्थगित गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिएका हुन्।
समितिका सदस्यहरूले आजै शिक्षा विधेयक पारित गर्नुपर्ने अडान लिएका थिए तर शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग छलफल गर्न थप समय मागे।
उनले अनिश्चितकालका लागि बैठक स्थगित गर्न माग गरेका थिए तर समिति सभापति थापा र अन्य सदस्यहरू सहमत भएनन्। त्यसपछि केही समय शिक्षामन्त्री र सभापतिबीच चर्काचर्की नै चल्यो।
त्यसपछि सभापति थापाले शिक्षामन्त्रीलाई भने,‘सरकारलाई अब अन्तिम समय पाँच दिन दिएका छौँ। यो समयभित्र पहिला भएकै सहमतिअनुसार सहमति गरेर आउनुहोला।’
यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो ।
फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले समय माग गरेका हुन् ।
विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा अन्तिम समयमा समितिबाट पास हुन सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।