काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालनमा थप ३० दिनका लागि रोक लगाएको छ।
शुक्रबार प्रशासन कार्यालयले मनसुन सक्रिय रहिरहेको र सम्भावित विपद्को जोखिमलाई न्यूनीकरण गर्न असार २० गतेदेखि लागू हुने गरी यो निर्णय गरिएको जनाएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार, बीपी राजमार्गको सिन्धुली–खुर्कोट हुँदै काठमाडौँतर्फ जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनलाई हरेक दिन साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
यसअघि २०८२ असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले १५ दिनका लागि रात्रिकालीन यात्रामा रोक लगाउने निर्णय गरेको थियो।
प्रशासनले जोखिम कायमै रहेको भन्दै सवारी आवागमनमा गरिएको रोकलाई थप ३० दिन निरन्तरता दिइएको जारी सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।