काठमाडौँ– नेकपा एमाले सांसद एकनाथ ढकालले नेपालले धार्मिक पर्यटकलाई विशेष प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताएका छन्।
बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै ढकालले अहिले भइरहेको चुनौतीहरू समाधान गर्ने गरी पर्यटन प्रवर्द्धनमा लाग्न जरुरी रहेको बताएका हुन्।
विमानस्थलबाट बौद्ध धर्मावलम्बी पर्यटकहरूलाई छुट्टै काउन्टर निर्माण गरी फास्ट ट्रयाकमा आउन दिनुपर्ने उनको भनाई छ। उनले विमानस्थलदेखि नै पर्यटकमैत्री वातावरण निर्माण गर्न जरुरी रहेको बताए।
उनले भने, ‘हाम्रो भगवान् गौतम बुद्ध जन्मेको देश नेपाल, हामी जहिले पनि भन्छौँ। सगरमाथा भएको देश नेपाल। एयरपोर्टमा एउटा काउन्टरबाट फास्ट ट्रयाकमा आउन दिनलाई के हुन्छ ? सबै बौद्धमार्गी देशमा फास्ट ट्रयाकमा आउन दिन्छन्। उनीहरूलाई सम्मानको रुपमा दिएको हुन्छ। मैले बोले पनि त्यो हुन सकेको छैन। एयरपोर्टबाट नै पर्यटकमैत्री वातावरण सिर्जना गर्नुपर्छ। देशमा पर्यटनमैत्री वातावरणको निर्माण गर्नुपर्छ। नेपालको सन्दर्भमा हामीले धार्मिक पर्यटकलाई नै प्राथमिकता दिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।