काठमाडौं– शिक्षामन्त्री रघुजी पन्तको आग्रह स्वीकार गर्दै प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । अर्को बैठक कहिले बस्छ भन्ने टुंगो नभएकाले बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
समितिको आजको बैठकबाटै विद्यालय शिक्षा विधेयक टुंग्याउने तयारी भए पनि शिक्षामन्त्रीले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
शिक्षामन्त्रीको आग्रहपछि अहिलेसम्मको सहमतिबाट ब्याक नहुने गरेर बैठक स्थगित गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
‘अहिलेसम्मका सहमतिबाट ब्याक नहुने गरेर अर्को सूचना नआएसम्म बैठक स्थगित गरेका छौं,’ सभापति थापाले भने ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पारित नगरी छलफलका लागि समय माग्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
समितिसमक्ष त्यस्तो माग गर्नुअघि उनले प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यसपछि सत्तागठबन्धनमा थप छलफल आवश्यक परेको भन्दै उनले बैठक स्थगितको माग गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।