काठमाडौँ– सरकारले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएर राखेको भनिएका नेपाली नागरिक विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी दिएको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी गराएकी हुन्।
राणाले सरकार उनको रिहाइका लागि प्रयासरत रहेको समेत सदनलाई जानकारी गराइन्।
‘विपिन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ। सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोनमार्फत अपिल गर्नुभएको छ। सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छ', उनले भनिन्, 'म स्वयंले कतार संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्रीहरू, एजिप्ट टर्की र इरानका परराष्ट्रमन्त्रीहरू पत्र लेखी अनुरोध गरेँ।
ओमानमा आयोजित इन्डियन ओसियन कन्फ्रेन्समा कतार र संयुक्त अरब इमिरेट्सका राज्यमन्त्री र इरानका समकक्षीसँग भेट गरेर अनुरोध गरेको गरेको पनि उनले बताइन्।
उनले भनिन्, ‘अहिलेसम्म उहाँको स्थिति पत्ता लागेको छैन। हामीले भगवानसँग प्रार्थना गरौँ नेपालका छोरा विपिन जोशी सकुशल छन्। कुनै दिन नेपाल फर्किनेछन् भन्ने आशामा छौँ।’
उनले जोशीको खोजीमा हार मान्न नहुने बताइन्। सरकारले जतिसक्यो अन्तर्राष्ट्रिय फोरममा यो कुरा उठाउँदै आएको उनको भनाइ थियो।
हमास समूहले इजरायलमा गरेको आक्रमणका बेला झन्डै दुई वर्षअघि त्यहाँ अध्ययनका लागि पुगेका जोशी अपहरणमा परेका थिए। त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको छ।
जवाफ दिने क्रममा इरानमा १६ नेपाली रहेको परराष्ट्रमन्त्री ड.आरजु राना देउवाले जानकारी दिएकी थिइन्।
‘इरानमा १६ नेपाली रहनुभएको छ। ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ। ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ परराष्ट्र मन्त्री डा. राणाले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।