काठमाडौँ– केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न तीन मन्त्री रहेको समिति गठन गरेको जानकारी संसदीय समितिमा दिएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समितिमा आफूसहित गृहमन्त्री रमेश लेखक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी रहेको जानकारी दिइन्।
त्यो समितिमा तीनवटै मन्त्रालयका सचिवहरूले समेत काम गरिरहेको मन्त्री डा.राणाले बताइन्। समिति बैठक दुई पटक बसिसकेको उनले जनाइन्।
‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ। गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीनवटै मन्त्रालयका सचिव बसेर गहनतम रूपमा छलफल गरेर के–के समस्या रहेछ भनेर हेर्ने हो’ समिति बैठकमा धारणा राख्दै परराष्ट्रमन्त्री डा.राणाले भनिन्। समितिले समस्या समाधानका लागि पहिल्याएका उपाय श्रम मन्त्रालयलाई दिने बताइन्।
कतिपय देशमा अन्य देशका नागरिकले भन्दा नेपाली कामदारले कम तलब पाउने अवस्था रहेकाले त्यसको निराकरण कसरी गर्न सकिन्छ भन्ने उपाय पनि समितिले खोज्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।