काठमाडौं–सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन्।
उनले भने, ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् छ भन्नु स्वभाविक हो। उहाँले भनेको कुरामा हाम्रो टिप्पणी छैन। तर उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन।’
साथै, उनले गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने बताउँदै समन्वय आवश्यक भएको बताए।
‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबै थोक हुँदैन। समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नपर्ने आवश्यकता छ। नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ। डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौं,’ महतले भने।
प्रचण्डले केही दिनयतादेखि कांग्रेसभित्र असन्तुष्टि बढेको भन्दै सरकार ढल्ने दाबी गरेका थिए।
प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।