रूपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत पेश गरिँदैछ । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति पक्राउ परेका रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज अदालतमा पेश गरिने भएको हो ।
अदालतले थुनामा राख्न आदेश दिएलगतै प्रहरीले लामिछानेलाई शुक्रबार राति काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान भैरहवा लगेको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएका लामिछानेलाई पहिला अदालत पेश गरेपछि मात्रै कारागार पठाउने प्रावधान अनुसार आज अदालत पेश गरे लगत्तै कारागार चलान गरिने प्रहरी उपरीक्षक एसपी रञ्जितसिंह राठौरले बताए ।
जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो । गएको माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
समान प्रकृतिको मुद्दामा एक जनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालय लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो । यता उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने तयारी रवि पक्षका वकिलहरुले गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।