सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन आज हुँदैछ । यस अघि पटक पटक रोकिएको निर्वाचन आज हुन लागेको हो । निर्वाचनका लागि केहिबेर अघिबाट मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिदै आएको थियो । आजको निर्वाचनमा चार हजार ३ सय ८३ जना विद्यार्थीले मतदानमा सहभागीता जनाउँदैछन् ।

स्ववियु नेतृत्वका लागि सात राजनीतिक दलनिकट विद्यार्थी संगठन र एक स्वतन्त्र उम्मेदवार भिड्दैछन् । निर्वाचनमा कांग्रेस निकट नेविसंघबाट विवेक खड्का, एमाले निकट अनेरास्ववियुबाट जगतजंग शाही, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बाट प्रकाश विक, एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट चिनबहादुर सहकारीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंबाट लेलिनकुमार रेग्मी, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार र स्वतन्त्र रूपमा मिलन बिसीले सभापतिमा उम्मेदवारी दिएका छन् ।
सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिँदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन् । यस पटक कुनैपनि संगठनले एकअर्कासँग गठबन्धन गरेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।