काठमाडौं – प्रतिनिधिसभाको बैठक आज नबस्ने भएको छ।
११ बजेको बैठक अवरुद्ध भएपछि अपरान्ह ४ बजे सारिएकोमा सभामुख देवराज घिमिरेबाट विशेष कारण देखाउँदै सोमबार बिहान ११ बजेलाई निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ।
कुलमान घिसिङको बर्खास्तीको विरोधमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन्।
आइतबार बैठक सुरू हुनासाथ सत्ता र प्रतिपक्षी दुवैतर्फका सांसदहरू उठेका थिए। संसद सुचारु गर्न सभामुख देवराज घिमिरेले पटकपटक आग्रह गरे। उनले शुक्रबार भएको घटनाको छलफल गर्न पनि सदन सुचारु गर्नुपर्ने र प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिनेसमेत तय भइसकेको जानकारी गराएका थिए। तर, विपक्षी सांसदले मानेनन्।
त्यस्तै सत्तापक्ष सांसदहरूले राजावादीको प्रदर्शनमा जनता मारिएको भन्दै बोल्न पाउनुपर्ने माग राखेपछि राप्रपाका सांसद आक्रोशित भएका थिए। दुईपक्षबीच असहज अवस्था सिर्जना हुने देखिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
आइतबार ११ बजेको बैठक उक्त समयमा नबसेपछि दिउँसो ४ बजेलाई सारिएको थियो। चार बजे पनि बैठक बस्न नसक्दा सोमबारको समय निर्धारण गरेको संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।