काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजोको राजावादी आन्दोलनका क्रममा भएका सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने ठहर गरेको छ।
आज बसेको कार्यसम्पादन समिति बैठकले सरकारकै कारण हिंसा भड्किएको निष्कर्ष निकालेको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले सुनियोजित रुपमा आन्दोलन भाँडेको आरोप लगाए। शान्तिपूर्ण रुपमा सभा भइरहँदा निजी घरको छतबाट अश्रुग्याँस प्रहार गरेपछि स्थिति बिग्रिएको उनको भनाइ छ।
‘सबै घटनाक्रम हेर्दा सरकारले आन्दोलनमा हिंसा र दमन गर्ने योजनाका साथ सुरक्षाकर्मी परिचालन गरेको देखिन्छ’, उनले भने, ‘सरकार जसरी पनि आन्दोलन विथोल्न र हिंसा भड्काउन चाहन्थ्यो।’
लिङदेनले पार्टीका जिम्मेवार नेताहरुलाई पक्राउ गरिएको विषयमा पनि विरोध जनाए। पक्राउ परेका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा तोडफोड र आगजनीमा कतै पनि संलग्न नरहेको उनले उल्लेख गरे।
हिजो मृत्यु भएका दुवैलाई शहीद घोषणा र उचित क्षतिपूर्ति दिन पनि राप्रपाले माग गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।