काठमाडौं– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन्।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज बिहान पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा मन्त्री चौधरीले गरेका हुन्।
मन्त्री चौधरीले शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।
चौधरीले उक्त अडियो भदौ महिनातिरको भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाएका छन्।
भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको दाबी गरेका छन्।
अडियोमा सुनिएजस्तो त्यसमा मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेको तर सोध्नुपर्ने कुरा राखेको उनी बताउँछन्।
प्रदेशका मुख्यमन्त्रीकाव उक्त प्रकरणमा कुनै संलग्नता नरहेको दाबी समेत गरिएको छ।
सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ। तर, मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए।
अडियोमा सार्वजनिक भएको विषयमा आफूले कुनै लेनदेन नगरेको तर वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेको दाबी मन्त्री चौधरीको छ।
उनले आफूमाथि छानबिन गर्न माग गर्दै दोषी देखिए कारवाही भोग्न तयार रहेको बताए।
मन्त्री चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक शक्ति संघर्ष र अन्य राजनीतिक दलको षड्यन्त्रको सिकार आफूलाई बनाइएको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।