फाइल तस्विर काठमाडौं – नेकपा माओवादी केन्द्रले हिजो तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा भएको आरोप लगाएको छ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा र उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट भएको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता हिंसात्मक एवं आपराधिक कार्य गर्न÷गराउन उक्साउने योजनाकार तथा प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ। यस प्रकारका सबै आपराधिक कार्यलाई कानुनको दायरामा ल्याई विधिको शासन कायम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरिन्छ।’
प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु हुनुका साथै नेकपा (एकीकृत समाजवादी) को कार्यालय, सञ्चार गृह, औषधि कारखाना, डिपार्टमेन्ट स्टोर तथा अन्य सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको घटनालाई गम्भीर आपराधिक कार्यका रूपमा लिँदै माओवादी केन्द्रले ती सबै घटनाको निन्दा गरेको छ।
माओवादी केन्द्रले यस्ता हिंसात्मक र आपराधिक गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन, दोषीलाई गम्भीर अनुसन्धान गरी कडा भन्दा कडा कारबाही गर्न र विधिको शासन कायम गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।
चैत्र १५ गते राजधानीमा आयोजित बृहत् जनप्रदर्शन र जनसभामा उत्साहजनक सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै विज्ञप्तिमा उक्त जनसभा तत्कालीन रूपमा सरकारप्रति खबरदारी र उदण्ड जत्थालाई जवाफ दिनका साथै दीर्घकालीन रूपमा जनताको गणतन्त्र स्थापनाका लागि ऐतिहासिक कोसेढुङ्गा सावित भएको बताइएको छ।
माओवादी केन्द्रले मुलुकमा शान्ति, स्थायित्व र विधिको शासन सुनिश्चित गर्न सबै पक्षलाई संयमित रहन र समस्याको समाधान संवाद र समझदारीबाट खोज्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।