काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजको आन्दोलनमा भएका अप्रिय घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
प्रहरीले सुरुमै बल प्रयोग गरेर कार्यक्रम गर्न नदिँदा यो स्थिति उत्पन्न भएको उनको दाबी छ । एक भिडिओ विज्ञप्ति जारी गर्दै उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
‘आज हामीले शान्तिपूर्ण प्रदर्शन गर्न लागेका थियौं । तर सुरुदेखि नै हामीलाई प्रशासनबाट अत्याचार र थिचोमिचो भयो । म गाडीबाट मञ्चमा जान ओर्लिँदा नै ३÷४ राउन्ड टियर ग्यास हानिएको थियो । मञ्चमा गएपछि दसौं राउन्ड टियर ग्यास प्रहार भयो । मैले बोल्न पाइनँ । मञ्चमा बस्न पनि सकिनँ । त्यस्तो वातावरण सिर्जना भएपछि जनमानसमा आक्रोश उत्पन्न भयो,’ उनले भनेका छन् ।
घरको छतबाट टियर ग्यास हानिएपछि त्यो घरभरि पुलिसहरु लुकाएर राखेको थाहा पाएपछि मासले तोडफोड र आगजनी गरेको उनको भनाइ छ । उनले प्रहरीको गोली लागेर मृत्यु भएका सविन महर्जनको परिवारलाई क्षतिपूर्ति दिन माग गरे ।
उनले भनेका छन्, ‘प्रहरीले अन्धाधुन्द फायरिङ गर्दा किर्तिपुरका सविन महर्जन किर्तिपुरको मृत्यु भएको छ । । दर्जनौं मानिसहरु घाइते भएका छन् । उनीहरु विभिन्न अस्पतालमा छन् । यो दुखद हो । सबैप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु ।’
भोलि शनिबार घोडेजात्रा पर्व भएकाले आन्दोलन नगर्ने निर्णय समितिले यसअघि गरेको थियो । तर, यो निर्णयमा पुनर्विचार हुन सक्ने राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले बताए ।
राणाले भने, ‘एक जनाको मृत्यू भयो, एक जनालाई गोली लाग्या छ । राजालाई अरेस्ट गर्ने कुरा गरिराख्या छन् । त्यस्तो भयो भने मान्छे आफैं निस्किने स्थिति देखिराख्या छु मैले । परिस्थिति नाजुक छ । जनता थामिन्छन् जस्तो मलाई लाग्या छैन ।’
संयुक्त जनआन्दोलन समितिले सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको थियो । सरकारले मागको सुनवाइ नगरेको खण्डमा एक हप्तापछि आन्दोलन देशव्यापी बनाउने निर्णय समितिले गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।