काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि शुक्रबार भएको आन्दोलनका क्रममा आठ जनालाई प्रहरीको गोली लागेको छ ।
जसमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते छन् । घाइते ७ मध्ये पाँच जनाको सिभिल अस्पताल र २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
ट्रमामा उपचाररत घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उनलाई मेटलकै गोली लागेको अस्पतालले बताएको छ । सिभिलमा उपचाररतलाई भने रबरको गोली लागेको अस्पताल स्रोतको भनाइ छ ।
ट्रमामा उपचाररत २७ वर्षीय पुरुषको पेटमा गोली लागेको छ भने अर्कोलाई कुममा गोली लागेको छ । कुममा गोली लागेकाको अवस्था स्थिर रहे पनि पेटमा गोली लागेकाको भने अवस्था गम्भीर रहेको ट्रमा सेन्टरका निर्देशक डा बद्री रिजालले बताए ।
यस्तै सिभिलमा रहेकामध्ये एक जना महिलाको आकस्मिक शल्यक्रियाको तयारी रहेको छ । अन्यको अवस्था भने सामान्य छ । यस्तै सिनामंगलस्थित ३९ जनामध्ये १० जना सुरक्षाकर्मी घाइते छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।
आन्दोलन सुरु भएपछि नै प्रहरीले मञ्चमा टिअर ग्यास प्रहार गरेपछि राजावादीहरु उग्र बनेका थिए । त्यसपछि अवस्था नियन्त्रण बाहिर गयो । प्रदर्शनकारीले प्रहरीले लुकेर गोली र अश्रुग्यास प्रहार गरिरहेका घरमा तोडफोड र आगजनी गरेका छन् ।
शुक्रबारको आन्दोलनका क्रममा एक जना प्रदर्शनकारी र एक जना पत्रकारको मृत्यु भएको छ । कीर्तिपुर–४ का सवन महर्जनको प्रहरीको गोली लागी मृत्यु भएको हो । उनको घाँटीमा गोली लागेकोमा उपचारका क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको हो ।
यस्तै प्रदर्शनकारीले लगाएको आगोमा परी एभिन्यूज टेलिभिजनका पत्रकारको पनि मृत्यु भएको छ । उनी बसेर भिडियो खिचिरहेको घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीले उक्त घरलाई तोडफोड गर्दै आगजनी गरेका थिए ।
प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि गरेका थिए ।
काठमाडौंको तीनकुनेमा प्रहरीमाथि ढुंगामुढा र निजी घरहरूमाथि तोडफोड र आक्रमणपछि शुक्रबारका लागि तय भएको राजावादीको सभा बिथोलिएको छ । विभिन्न ठाउँबाट र्यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।