काठमाडौं– सरकारले आजको आन्दोलन र त्यसबाट उत्पन्न स्थितिको जिम्मेवार दुर्गा प्रसाईं भएको ठहर गरेको छ ।
गृह मन्त्रालयले दिनभरको स्थितिबारे ब्रिफिङ गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयले यस्तो बताएको हो। मन्त्रालयका अनुसार प्रसाईंले मर्यादा नतोडेको भए यतिका क्षति हुने थिएन ।
यसका लागि सूचना र जानकारी संकलन गरी अनुसन्धान गरेर आएको निष्कर्ष अनुसार प्रसाईंमाथि कारबाही हुने गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
उनका अनुसार आन्दोलनका क्रममा प्रहरीको गोली लागि घाइते भएका कीर्तिपुर–४ का सविन महर्जनको उपचारका क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको छ ।
अन्य तीन जना प्रदर्शनकारीको आईसीयूमा उपचार हुँदैछ । यता अन्य १५ जना प्रदर्शनकारी र सुरक्षाकर्मीतर्फ पनि १५ जना नै घाइते भएको उनको भनाइ छ ।
स्थिति उग्र बनेपछि लगाइएको कर्फ्यू आज राति १० बजेसम्म लागू हुनेछ । त्यसपछि भोलिदेखिको स्थितिलाई हेरेर निर्णय लिइने रिजालले बताए । आजको आन्दोलन र त्यसबाट उत्पन्न स्थिति क्षमायोग्य नभएको मन्त्रालयको निष्कर्ष छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।