काठमाडौं– राजसंस्था पुनःस्थापनाका लागि भनिएको संयुक्त जनआन्दोलन समितिले सर्वपक्षीय वार्ताका लागि आह्वान गरेको छ । आज भएको आन्दोलनमा सरकारले दमन गर्दा स्थिति अशान्तपूर्ण बनेको आरोप समितिका प्रवक्ता स्वागत नेपालले लगाएका छन् ।
एक विज्ञप्ति जारी गर्दे नेपालले अब यो आन्दोलन सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित नरहने चेतावनीसमेत दिएका छन् । आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।’
उनले भनेका छन्, ‘गणतन्त्र कागजमा मात्र सीमित रहेको छ । यस अवस्थालाई ध्यानमा राखी पुरानो संसदीय व्यवस्थावादीहरुले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित रहेकाले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरु समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौं ।’
हिजैदेखि चक्रपथ छुनसमेत नदिने रणनीति बनाएर कोटेश्वरतर्फ आउने नागरिकहरुमाथि दमन भइरहेको नेपालले उल्लेख गरेका छन् । निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित भएर आत्मरक्षाका लागि प्रतिकार गरिएको उनको दाबी छ ।
‘कार्यक्रमस्थलमा नेतृत्व गण आइपुग्ने समयसमेत नदिई भएको घुसपैठ र दमनबाट उत्पन्न अशान्त वातावरणका लागि निरंकुश सत्ताले जिम्मेवारी लिनुपर्ने हामी प्रस्ट गर्न चाहन्छौं’, उनले भनेका छन् ।
यस संयुक्त जनआन्दोलनको नीति शान्तिपूर्ण र भद्र अवज्ञा रहेको समितिले जनाएको छ ।
‘तर सरकारले लिने दमनपूर्ण नीति र घुसपैठियाहरुमार्फत सञ्चालन गरिने प्रतिकारात्मक गतिविधिका विरुद्ध यो आन्दोलन अब सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित नरहने तथ्य पनि चेतावनीपूर्ण रुपमा जानकारी दिन चाहन्छौं । घाइते आन्दोलनकारी, प्रहरीहरुको तत्काल निःशुल्क उपचार गर्न तथा क्षति पुगेका व्यवसायीहरुका लागि क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने जिम्मेवारी पनि सरकारको रहेको हुँदा तत्काल सोको प्रबन्ध गर्न पनि अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।