काठमाडौँ –विपक्षी दलहरूको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ।
सवा एक बजे बैठक सुरु हुँदावित्तिकै विपषी दलहरूले उठेर विरोध गरेका थिए। त्यसपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्ने समय दिए।
विश्वकर्माले आफूहरूले राखेका माग पूरा नभएकाले सदनको कारबाही अगाडि बढ्न नसक्ने बताए। ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग हामीले राखेका थियौँ। त्यो माग पूरा भएको छैन,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको हाम्रो बुझाइ छ। त्यसैले सदनको कारबाही अगाडि बढ्न सक्दैन।’
त्यसपछि अध्यक्ष दाहालले आमसी समझदारीमा समस्या हटाउन सकिने भन्दै सदनको कारबाही अगाडि बढाउन दिन पटक पटक आग्रह गर्दा पनि विपक्षी सांसदहरू बसेनन्। विशेष आग्रह गदै अनुरोध गर्दा पनि सांसदहरूले सुनेनन्।
विश्वकर्माले विपक्षीले ठूलो आन्दोलन र प्रदर्शन गर्दा सदन स्थगित गर्ने प्रचलन भए पनि आज राखिएकोमा पनि रोस प्रकट गरे।
त्यसपछि अध्यक्ष दाहालले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्। घिसिङलाई सरकारले पदबाट हटाएको प्रकरणमा विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।