काठमाडौँ –संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १२ बजे बस्नेछ ।
नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनाको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्ने गरी स्थगित भएको थियो ।
कुलमानलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् चल्न नदिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले रोस्ट्रममा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन् । प्रधानमन्त्रीले संसद्मा चित्तबुझ्दो जवाफ नदिए आन्दोलन अघि बढ्ने पनि प्रचण्डको चेतावनी छ ।
सङ्क्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाए लगत्तै मन्त्रिपरिषद् बाट कुलमान घिसिङलाई हटाउनु अर्को जालझेल भएको दाहालको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटेर रुनेहरूलाई आफूले सदनमा जवाफ नदिने बताएका छन् । जसमा अन्य प्रतिपक्ष दलहरुले पनि साथ दिएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरको कार्यक्रम पनि रहेको छ । अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।