काठमाडौँ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र नेपाली कांग्रेसको पूर्ण साथ समर्थन रहेको बताएका छन्।
मंगलबार सुजाता कोइरालाद्वारा लेखिएको ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन्।
कांग्रेस–एमालेबिच सम्बन्धमा केही आशंका पैदा भएको चर्चा परिचर्चा चलिरहेका बेलामा देउवाले ओलीलाई आफ्नो र कांग्रेसको पूर्ण समर्थन रहेको बताए।
उनले भने,‘प्रधानमन्त्री ओलीजीलाई म र कांग्रेसको पूर्ण साथ र समर्थन छ। उहाँ र म जेल बस्दा गोलघरमा संगै बसेका हौँ।’ उनले ओलीले पनि सहयोग गर्ने विश्वास आफूलाई रहेको बताए।
सोमबार मात्रै ओली नेतृत्वको कांग्रेससमेत सहभागी सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर त्यो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि कांग्रेस महामन्त्रीद्वयले सरकारको निर्णयको विरोध गरेका थिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घिसिङलाई हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने बताएपछि कतै दुई पार्टीबीचको सम्बन्धमा दरार आउने त होइन भन्ने आशंका व्यक्त भइरहेका बेला देउवाले त्यस्तो अभिव्यक्ति आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।