काठमाडौं– राजसंस्था पुनःस्थापनाको माग गर्दै व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको चैत १५ गतेको जनप्रदर्शनलाई नवराज सुवेदीले पूर्ण समर्थन जनाएका छन्।
सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समिति’ ले उक्त प्रदर्शनको औपचारिक रूपमैस्वामित्व लिएको छ।
सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै चैत १५ गतेको जनप्रदर्शनलाई सफल बनाउन सबै पक्षसँग सक्रिय सहभागिताको आह्वान गरेका छन्।
उप्रान्त राजसंस्था पुनःस्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरुमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहने विज्ञप्तिमा जनाइएको छ।
‘आउँदो शुक्रबार राजधानीमा हुने विशाल जनप्रदर्शनमा सहभागी भई समर्थन जनाउन सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी, संघीयताविरोधी तथा आम नागरिक, राजनीतिक पार्टी र समूहहरूसँग हार्दिक अपील गर्दछु’ सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘देश बचाउन र पुनर्निर्माण गर्न अब हामीसँग अर्को कुनै विकल्प बाँकी छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।