काठमाडौँ–आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले सुकुमबासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौँका विभिन्न सुकुमबासी बस्तीमा पुगेका साहले सुकुमबासी बस्तीमा खानेपानी नदिएर सरकार अमानवीय कार्य गरेको बताउँदै खानेपानीको व्यवस्था गर्न माग गरेका हुन्।
सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र केही सीमित नेताहरूले आफ्नो क्षेत्रको समस्या मात्रै समस्याको रूपमा बुझेको बताउँदै उनले काठमाडौँको विभिन्न ठाउँमा रहेका सुकुमबासी बस्तीहरूको समस्या समाधान गर्नुपर्ने जोड दिए।
अहिलेको दलतन्त्रका कारण सुकुमबासीको समस्या समाधान हुन नसकेको बताउँदै उनले दलतन्त्रको अन्त्य र सुकुमबासी समस्याको समाधानका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन उनले आग्रह गरे। नेताहरूले आफ्नो क्षेत्रमा लालपुर्जा बाँड्ने तर काठमाडौँको सुकुमबासी समस्या समाधानमा चासो नदिएको उनले बताए। काठमाडौँका सुकुमबासीहरुलाई लालपुर्जा दिएर यो समस्या समाधान गर्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।