काठमाडौँ– सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को आजको बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो।
समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आजै संक्रमणकालीन न्याय (टिआरसी) सँग जोडिएका आयोग गठनका विषयमा छलफल भएको थियो। सोही छलफलका आधारमा सिफारिस समिति गठन गरिएको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ। सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र दुवै आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।