काठमाडौं–प्रमुख तीन दलका शीर्ष नेताबिच संमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ।
छलफलपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार समेत रहेका एमाले नेता अग्नि खरेलले सर्च कमिटी गठन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका हुन्।
‘आयोगको अध्यक्ष तथा सदस्य सिफारिस गर्न सर्च कमिटी गठन प्रक्रिया सरकारले अघि बढाउँछ’, सल्लाहकार खरेलले भने, ‘प्रक्रिया अघि बढ्छ ।’ सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन हुने भएको छ।
सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी थिए।
बैठकमा संक्रमणकालीन न्याय, पछिल्लो समय बढिरहेको राजावादीको सक्रियतालगायतका विषयमा छलफल भइरहेको छ। यस बैठकअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका थिए।
संक्रमणकालीन न्याय निरुपणको काम टुंग्याउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ सल्लाहकारका रुपमा पूर्वमहान्यायाधिवक्ता तथा एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेललाई नियुक्त गरेका हुन्। खरेल महान्यायाधिवक्ता भएका बेलामै विधेयकको मस्यौदा बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।