काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले अबको भरोषा माओवादी केन्द्रमात्रै हो भन्ने बुझेको बताएका छन्।
शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले अभियानमा पार्टीप्रति ठूलो लहर देखिएको बताएका हुन्।
प्रचण्डले भने, ‘माओवादीको यो अभियानमा अभूतपूर्व लहर देखिएपछि प्रतिक्रियावादी बुर्जुवा पार्टीहरुमा खैलाबैला मच्चिएको पनि हामीले थाहा पायौं। मधेशवादी दल भन्नेहरु पनि हावाकावा भएको देख्यौं।’
उनले आफूप्रति जनताको सद्भाव बढेको जिकिर गर्दै २०६४ को भन्दा धेरै उचाइमा महसुस गर्न थालेको बताए।
उनले भने, ‘प्रचण्डप्रति जनताको जुन स्तरको आशा, भरोषा देखेँ, त्यो साँच्चै नै असाधारण छ। जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन्। तपाईंहरुले सुन्नुभएकै होला। त्यसले पार्टी र मप्रति ठूलो जिम्मेवारी र प्रेरणा बनेको छ।’
अध्यक्ष प्रचण्डले पछिल्लो पटक आफूहरू जनतासँगको अभियानमा लाग्दा छुट्टै खुसी मिलेको बताए।
‘काठमाडौंमा बसेर फटाहासँग बसेर काम न काजका कुरा गर्दाको थकान र जनतासँग बसेर खाँदा पाउने खुसी यहाँ अनुभूत गर्यौं,’ प्रचण्डले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।