काठमाडौँ – खानेपानीमन्त्री प्रदीप यादवले शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता भएकाले अबको एक वर्षभित्र देशभरीका ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको बताएका छन् ।
आज काठमाडौँमा यूएचएस होल्डिङ्सको सहभागितामा आयोजित आइओन एक्सचेन्ज जेरो बी–उत्पादन लन्च समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले अहिले २७ प्रतिशतमा स्वच्छ खानेपानी पुर्याउन सफल भएको र आगामी एक वर्षभित्रमा ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिइएको बताए ।
उनले भने, “हामी सबैलाई अवगत छ कि शुद्ध पिउने पानी स्वस्थ जीवनको आधारभूत आवश्यकता हो, यसको अभावले सार्वजनिक स्वास्थ्य मात्र होइन, समग्र विकासमा समेत गम्भीर असर पुर्याउँछ ।”
सोही क्रममा मन्त्री यादवले खानेपानी मन्त्रालय नेपालका प्रत्येक नागरिकलाई सुरक्षित, शुद्ध र स्वस्थ पिउने पानी उपलब्ध गराउने आफ्नो संकल्पप्रति प्रतिबद्ध रहेको जानकारी दिदै नेपालका ग्रामीण क्षेत्रमा ९५ प्रतिशत र शहरी क्षेत्रमा ९८ प्रतिसत जनसङ्ख्याले आधारभूत खानेपानी सेवाहरूको पहुँच पाएको बताए ।
नेपालमा खानेपानीको पहुँचलाई सुधार गर्ने क्रममा विभिन्न चुनौतीहरू सामना गर्नु परेको र ग्रामीण तथा सहरी दुबै क्षेत्रमा स्वच्छ पानीको आपूर्ति सन्तोषजनक स्तरमा पुर्याउनका लागि नीति तथा पूर्वाधार विकासमा खानेपानी मन्त्रालय निरन्तर काम गरिरहेको बताए । उनले भने, “यस अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ । आज यहाँ प्रस्तुत भएको जेरो बी ब्रान्डले यही यात्रालाई थप सशक्त बनाउने विश्वास लिएको छु ।”
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार, विश्वभर झण्डै २ दशमलब २ अर्ब मानिसहरूसँग सुरक्षित पिउने पानीको पहुँच नभएको र नेपाल पनि यो चुनौतीबाट अछुतो नरहेको मन्त्री यादवको भनाई छ । नेपालको झण्डै ७२ प्रतिसत जनसङ्ख्या अझै पनि सुरक्षित र शुद्ध पानी पिउनबाट बञ्चित रहेका कारण विभिन्न पानीजन्य रोगहरूको जोखिमलाई बढाइरहेको मन्त्री यादवले धारणा राखे ।
नेपाल सरकारले सन् २०३० भित्र ‘सुरक्षित तथा स्वच्छ खानेपानी पहुँच’ हासिल गर्ने लक्ष्य लिएको तथा जुन संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यको हिस्सा पनि भएको बताए । उनले भने, “यस लक्ष्यलाई हासिल गर्न निजी क्षेत्र, सरकारी निकाय, र गैर–सरकारी संस्थाहरूको सहकार्य अपरिहार्य छ । आजको यस कार्यक्रममा जेरो बि जस्ता प्रविधिहरूको परिचय गराउनु एउटा महत्वपूर्ण कदम हो, जसले नेपालको खानेपानी सुधार अभियानलाई थप प्रभावकारी बनाउन मद्दत गर्नेछ ।”
नेपालमा हरेक वर्ष ५ वर्ष मुनिका करिब तीन हजार ५०० बालबालिकाको मृत्यु डाइरिया जस्ता पानीजन्य रोगहरूको कारणले हुने गरेको मन्त्री यादवले बताएका छन् । दूषित पानीका कारण टाइफाइड, डाइरिया, हेपाटाइटिस, हैजा जस्ता रोगहरू महामारीको रूपमा देखा पर्ने गरेका, नेपालका धेरै भू–भागहरूमा जलश्रोतको प्रदूषण, अव्यवस्थित ढल निकास, र औद्योगिक फोहोर स्वच्छ पानीको उपलब्धतामा बाधक बन्दै आएको उनको भनाई छ ।
शुद्ध खानेपानी नागरिकको मौलिक अधिकार भएकाले यसलाई सरकार, निजी क्षेत्र, र नागरिक समाजले मिलेर सुनिश्चित गर्नुपर्ने, जेरो बी जस्ता नवीनतम प्रविधिहरूको प्रयोगले सुरक्षित पिउने पानीको सुनिश्चितता गर्न मद्दत गर्ने, सरकार, निजी क्षेत्र, र गैर–सरकारी संस्थाहरू मिलेर ‘स्वच्छ खानेपानी पहुँच’ को लक्ष्य प्राप्त गर्ने मन्त्री यादवले बताए । यूएचएस होल्डिङ्सलाई यस महत्वपूर्ण प्रविधि भित्र्याएकोमा बधाई ज्ञापन गर्दै मन्त्री यादवले नेपाल सरकार यस्ता नवीनतम समाधानहरूलाई प्रवर्धन गर्न हरतरहबाट सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।