बागलुङ –धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा आस्मिक शेख निर्वाचित भएकी छिन् । सम्पन्न मतगणनामा शेखले नेपाल विद्यार्थी संघका उम्मेदवार सृष्टी आचार्यलाई ६२ मतान्तरले पछि पार्दै निर्वाचित भएकी हुन् ।
अखिल संयुक्त प्यानलबाट निर्वाचित शेखले ५५२ मत ल्याएकी छिन् भने आचार्यले ४९१ मत ल्याएकी छिन् । अध्यक्षका लागि स्वतन्त्र समुहबाट उम्मेदवारी दिएका दिपक सुवेदीले ७ मत प्राप्त गरेका छन् । साविकको धवलागिरी क्षेत्रकै एक मात्रै आंज्ञिक क्याम्पसमा विगत २० वर्ष देखी नेपाल विद्यार्थी संघले नेतृत्व समाल्दै आएकोमा यस वर्ष भने अनेरास्ववियुकी शेख विजयी भइन् ।
निर्वाचनमा नेपाल विद्यार्थी संघले एकल प्यानल बनाएर चुनावी मैदानमा थियो भने अन्य वामपन्थी विद्यार्थी संगठन र राप्रपा समर्थक विद्यार्थी संगठन एकै ठाउँमा भएर संयुक्त प्यानल बनाएका थिए । मंगलबार भएको निर्वाचनमा अध्यक्ष र एक सदस्य बाहेक सचिव कोषाध्यक्ष सहित अन्य सदस्य नेविसंघले नै जितेको छ ।
सचिवमा नेविसंघका सचिन हरिजन निर्वाचित भए । हरिजनले ५३४ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी अखिलका रुद्रबहादुर पुनले ५०९ मत प्राप्त गरे । यसैगरी कोषाध्यक्षमा विशाल थापा निर्वाचित भए । थापाले ६५४ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी अखिलका रेखा शर्माले ३८४ मत ल्याइन् ।
यसैगरी सदस्यहरुमा नेविसंघका प्रशान्त सुवेदी, दिप सागर सुवेदी, सुदिप घर्ति मगर, सृष्टी घर्ति, सुवासबाबु घर्ति समेन्त शर्मा र शुभम राजभण्डारी निर्वाचित भएका छन् भने अखिलबाट विकल्प घर्तिमगर निर्वाचित भएका छन् । अखिल संयुक्तबाट अध्यक्ष शेख र सदस्यमा धर्तिमगर मात्र निर्वाचित भएका हुन् । अन्य पदमा भने नेविसंघ विजयी भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।