काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । यस्तै विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुने भएको छ ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।
सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।


केहिमा विवाद पछि स्थागित
देशभरका अधिकांश क्याम्पसहरुमा निर्वाचन हुन लाग्दा केहि क्याम्पसहरुमा भने विवाद पछि अवस्था तनावपूर्ण बन्दै गएको छ । निर्वाचनको अन्तिम तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ ।
यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिए । त्रिचन्द्र कलेजमा पनि निर्वाचन स्थगित भएको छ ।
सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ । उपत्यका बाहिर जस्तै बिराटनगर, पोखरा, सुर्खेत लगायतका क्षेत्रमा पनि केहि क्याम्पसहरुमा विवाद पछि निर्वाचन स्थगित भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।