काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गरेका छन्।
आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको र प्रजातन्त्र नमासिकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उद्घोष गरेका छन्।
उनले आफूहरूले राजासहितको लोकतान्त्रिक प्रजातन्त्रका लागि प्रयास गरिरहेका बताएका छन्। ‘प्रजातन्त्र र लोकतन्त्र मासिन्न, राष्ट्रपतिका स्थानमा राजा राखिन्छ। राजासहितको राजतन्त्र चाहिन्छ, खुलमखुला बहस गर्न तयार छौँ,’ उनले भने।
‘माननीयज्यूले हत्याराको कुरा गर्नुभयो। मदन भण्डारीको हत्या कसले गर्यो ? त्यही पार्टीका प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई छानबिन गर्न कसले रोकेको छ ? साथीहरूले काण्डको कुरा गर्नुहुन्छ। म काण्ड सम्झाइदिऊँ ? निर्मला पन्तको बलात्कारपछि हत्या भयो। यत्रा गृहमन्त्री भए, एक जना निर्मलाको हत्यारा पत्ता लगाउन सक्या छौँ ? बाँदरमुढे घटना याद छ ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्यारा यही संसदमा छन्। खुलामञ्चमा उभिएर बसेर ५ हजार मान्छे मारेको हुँ भन्ने व्यक्ति प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो यो। आज कति छ जनतामाथि कर ? तीन सय वटा कर लगाइएको छ। पैतृक सम्पत्तिमा समेत लाभकर लगाउन थालेका छन्।’
वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठुला बडा सबै मिलेर खानलाई चाहिएको उनले बताए। गरिब जनताका लागि यो व्यवस्था उचित नभएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।