काठमाडौं–सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
बाल सुधारगृहमा साना–ठूला उमेर समूहकालाई एकै ठाउँ राखिएकाले पनि बेला बेला तनाव हुने गरेको भन्दै सांसहरुले सुरक्षित र व्यवस्थित बनाउन माग गरे।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद रोशन कार्कीले सरकारले बाल सुधारगृह बनाउन खोजेको हो कि ‘बाल बिगार केन्द्र’ ? भनेर प्रश्न गरिन्।
देशका विभिन्न ठाउँका बाल सुधार गृहको अवलोकन गर्दा त्यहाँ न्यूनतम मापदण्ड पालना नभएको, लागुपदार्थ सेवन हुने गरेको र खाना पनि राम्रो नहुने गरेको भन्दै उक्त समस्या समाधान हुनुपर्ने बताइन्।
सांसद दीपा शर्माले बाल सुधारगृहमा १० वर्षदेखि ३० वर्षसम्मका बालबालिकालाई एकै ठाउँमा राखिएकाले झगडा र तनाव हुने गरेको बताइन्। त्यसैले उनीहरुलाई छुट्टाछुट्टै राख्ने व्यवस्थाका लागि उनले माग गरिन्।
त्यस्तै सांसद शान्ति श्रेष्ठले पनि बाल सुधार गृहलाई व्यवस्थित र शान्तिसुव्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइन्।
शुक्रबार होलीको विषयमा दुईपक्षबीच भएको झडपले बाँकेको डुडुवास्थित जयन्दु बाल सुधारगृहमा शनिबार दिनभर तनाव भएको थियो। त्यहाँको गेट तोडेर निस्किएका बालबन्दीहरुले प्रहरीमाथि कुटपिट, पसलमा लुटपाट र स्थानीयको परालको टौवामा आगजनी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।