सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव यही चैत्र १८ गते हुने भएको छ । यस अघि पटक–पटक अवरुद्ध हुँदै आएको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक दीपेन्द्रबहादुर थापाका अनुसार चैत्र ७ गते सङ्गठन दर्ता, १२ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । यस्तै चैत्र १५ गते रातिदेखि मौन अवधि सुरु हुने छ भने १८ गते बिहान ७ बजेदेखि मतदान हुने छ । यसअघि पटक पटक मुद्दा दायर हुँदा विश्वविद्यालयको चुनाव रोकिएको थियो ।
स्ववियु चुनावलाई लिएर कर्णालीमा राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठानको विषय बनाउनेमा मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पस हुन् । दुवै प्रदेश राजधानीका ठुला क्याम्पस भएकाले सबैको चासो यिनै दुई वटा शैक्षिक संस्थामा हुन्छ । यसैबिच चैत्र ५ गतेका लागि तोकिएको सुर्खेत बहुमुखी क्याम्पसको चुनाव भने रोकिएको छ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार बेलुका क्याम्पसमा तोडफोड गरेका थिए । निर्वाचन समितिले असुरक्षाको विषयलाई ध्यानमा राख्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।