काठमाडौँ – काठमाडौंको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित हसनटार सिमानानजिक रहेको मानिस सुत्ने टिनको टहरोमा आगलागी भएको छ ।
शनिबार राति कृष्णहरि श्रेष्ठको परिवार बस्दै आएको टहरो आगलागी हुँदा पूर्णरूपमा क्षति भएको छ । यद्यपि मानविय क्षति भने नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिल बोहराले जानकारी दिएका छन् । उनका अनुसार राति ९ बजेर ४० मिनेट जाँदा भएको आगलागीबाट एक घण्टापछि नियन्त्रणमा आएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट काठका फर्निचर, दराज, सोफा, पलङ, कपडा, सिरक, डस्ना, गलैंचा तथा भाडाकुँडासहित घरायसी सामानमा क्षति पुगेको छ । टहरोको जस्ता र फलामसमेत आगोले नष्ट भएको छ । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।