काठमाडौँ – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई आजीवन सुविधा थप्ने सरकारको कुनै तयारी नभएको भनेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले पूर्व विशिष्टलाई सुविधा थप्ने कुनै तयारी नगरेको स्पष्ट पारेका छन् ।
यसअघिका सरकारले अगाडि बढाएको पूर्व विशिष्टको सुविधाको विषय सर्वोच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरी निर्देशनात्मक आदेश जारी भएको चर्चा गर्दै उनले भने । ‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरी सरकारले गृहकार्य अघि बढाएको छैन । वर्तमान सरकारको सुविधा थप्ने सरकारको मनसाय छैन ।’
उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए । राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले काँग्रेस , एमालेसहितका दलहरू मिलेर सरकार बनेको भन्दै उनले जनताको जीवन र जीविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।