काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ तारकेश्वर वडा नम्बर ९ मा रहेको सरकारी जग्गा नेपाली कांग्रेसका नेताले कब्जामा लिएर भोगचलन गर्दै आएको आरोप लगाएपछि नेपाली कांग्रेसका सांसदले आपत्ति जनाएका छन्।
सांसद श्रेष्ठले प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा उक्त विषय राखे लगत्तै काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित राजेन्द्रकुमार केसीले आपत्ति जनाएका हुन्।
केसीसँगै कांग्रेसका अरु सांसदले पनि उठेर टेबल बजाउँदै आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले संसदमा सांसदले राखेको विषय प्रमाणीत हुनेगरी र जिम्मेवारीपूर्ण ढंगबाट राखिएको संसदले विश्वास गर्ने भन्दै बादबिवाद नगर्न आग्रह गरे।
त्यसक्षेत्रको कित्ता नम्बर ६२ र ६३ कांग्रेसका नेताले कब्जा लिई भोगचलन गर्दै आइरहेको स्थानीयको गुनासो रहेको रास्वपाका सांसदहरूले बताएका हुन् ।
यस सम्बन्धमा उजुरीका बाबजुत स्थनीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरको भनेर उनीहरूले सरकारको ध्यानाकर्षण गरेका थिए ।
त्यसपछि कांग्रेसकी सचेतक सुशीला थिङ, सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईं लगायतले आपत्ति जनाएका हुन् ।
तथ्यहीन आरोप लगाएको भन्दै उनीहरूले रास्वपाका सांसदद्वय खनाल र श्रेष्ठको आभिव्यक्ति हटाउन माग गरे ।
सभामुख घिमिरेले संसद्मा राखेको विषय तथ्यमा आधारित हुनुपर्ने बताए । यो विषय तथ्यमा छ वा छैन भन्ने विषयमा स्वयम सांसद जिम्मेवार हुने बताए ।
कुरा उठाउने बित्तिकै हटाउने नभएर तथ्य नरहेको थाहा लागेपछि हटाउन सकिने उनले बताए । त्यसपछि कांग्रेस सांसदहरू बसे । बैठक अगाडि बढ्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।